
सुर्खेत । कर्णालीका १० जिल्लाको सांस्कृतिक तथा पर्यटकीयस्थलको झल्को दिने गरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ बनाउन लागेको छ । नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ बनाउन घण्टाघर क्षेत्र आसपासदेखि नगर कार्यपालिका कार्यालय क्षेत्रसम्म भित्र यी संरचना निर्माण गर्ने भएको हो ।
वीरेन्द्रनगरको मुख्य क्षेत्र २०४५ सालमा निर्मित संरचनालाई पुनर्निर्माण गरेर ‘ग्रेटर घण्टाघर’ बनाउन लागिएको छ । ‘ग्रेटर घण्टाघर’ बनाउन व्यवस्थित पार्क, फोरलेन सडक, पार्टी र अन्य कार्यका लागि सभाहल, पारिवारिक रुपमा बस्न पार्कलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।
त्यसका लागि घण्टाघर क्षेत्रका पुराना पर्खाल हटाउने, पश्चिमतर्फको खाली भागमा खुल्ला पार्क, घण्टाघरभित्र आकर्षक संरचना, घण्टाघरदेखि नगरपालिका अगाडिसम्म फुटपाथ व्यवस्थापन र अस्थायी संरचना हटाइएका नेकपा एमाले कार्यालयदेखि उत्तर क्षेत्रमा मण्डला निर्माणको लक्ष्य राखिएको इन्जिनियर हरि केसीले बताए ।
नेकपा एमाले पार्टी कार्यालयदेखि उत्तर-पूर्वमा यसअघि नगरपालिकाले खाली गराएकाे क्षेत्रमा निर्माण गर्न लागिएकाे मण्डलासहितकाे पार्क ।
‘घण्टाघरलाई आकर्षक र सुरक्षितस्थल बनाउन वीरेन्द्रनगर नगरपालिकाले विभिन्न प्याकेजमा काम गरिरहेको छ,’ उनले भने, ‘नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ बनाउन आर्थिक वर्ष २०७८-०७९ देखि काम आरम्भ गरेको हो ।’
घण्टाघर पार्कलाई नगरपालिकाले संरक्षण र पर्यटकीयस्थल बनाउने उद्देश्यले प्राथमिकतामा राखेर अघि बढाएको योजना आर्थिक वर्ष २०७९/०८० मा घण्टाघरको पुरानो पर्खाल हटाएर नयाँ पर्खाल निर्माण गरिएको थियाे।
दुई चरणमा ठेक्का व्यवस्थापन गरेर निर्माण थालिएको घण्टाघरको उत्तर, पश्चिम र दक्षिणतर्फको काम ४० लाख ४७ हजार आठ सय १९ रुपैयाँ लागतमा गत वर्ष सकिएको हो ।
बाँकी रहेको घण्टाघर प्रवेश गेटसहित दक्षिण र उत्तरतर्फको निर्माण लागत ५५ लाख ८९ हजार तीन सय ८५ रुपैयाँ रहेको वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर केसीले बताए ।
‘घण्टाघर पार्कभित्र पब्लिक प्लाजा, विमोचनस्थल, योगा क्षेत्र, बाल उद्यान लगायतका संरचना निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ,’ उनले भने, ‘डीपीआर बनिसकेको छ । चालु आर्थिक वर्षमै टेण्डर आह्वान गरिनेछ घण्टाघर पार्क भित्र निर्माण गर्न लागिएकाे संरचनाहरू । याे डिजाइन अन्तिम चरणमा रहेकाे छ ।
घण्टाघरदेखि पश्चिममा रहेको खुला स्थानमा हाल नगरपालिकाले खुला पार्क बनाइसकेकाे छ । सबै नागरिक सहज रुपमा प्रवेश गरेर बस्न मिल्ने बेञ्च र खुला रुपमा सार्वजनिक कार्यक्रम गर्न मिल्नेगरी संरचना तयार हुँदैछ । खुला पार्क निर्माणमा ९६ लाख बजेट खर्च भइरहेको नगरपालिकाले जनाएको छ ।
खुला पार्क निर्माण सकिए एउटै थलोमा देउडा, मनोरञ्जन कार्यक्रम, सम्मेलन, बहस र पैरवी गर्न सहज हुने छ । पार्कभित्र व्यापार क्षेत्र, घुमघाम क्षेत्र, मल्टिपल हल निर्माण गर्ने लक्ष्य राखिएको नगर प्रमुख मोहनमाया ढकालले बताइन् ।
‘खुला पार्कमा आकर्षक बत्ती र सीसीटिभी क्यामरा जडान गरेर सुरक्षितस्थल बनाइने लक्ष्य नगरपालिकाको छ,’ उनले भनिन्, ‘घण्टाघरदेखि नगरपालिका कार्यालय अगाडीसम्म फुटफाथलाई व्यवस्थित गर्न लागिएको छ ।’
चालु आर्थिक वर्षबाटै ठेक्का व्यवस्थापन गरेर संरचना हटाएको क्षेत्रमा कर्णालीका १० वटै जिल्लाको सांस्कृतिक तथा पर्यटकीय पहिचान झल्किने गरि मण्डला बनाउन लागिएको ढकालले बताइन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अब गरिने विकास युवा पुस्ताको मनोविज्ञान बुझेर गरिने बताए । वीरेन्द्रनगर नगरपालिकाले गरेको ग्रेटर घण्टाघर निर्माणसम्बन्धी छलफललाई सम्बोधन गर्दै विकासमा युवा पुस्ताको सहभागितासँगै उनीहरूको चाहनाअनुसार विकासमा ध्यान दिन सके दिगो हुने मुख्यमन्त्री कँडेलको भनाई थियो ।
‘वीरेन्द्रनगरका सार्वजनिक जमिन भावी पुस्ताका लागि भएकाले यहाँ गरिने निर्माणका कार्य सोच विचार गरेर अघि बढाउनुपर्छ’, उनले भने, ‘भावी पुस्तालाई उपभोग गर्ने गरि बचाएर राख्दिनु हाम्रो दायित्व हो ।’ जनप्रतिनिधिहरूले कम लागतमा राम्रो गुणस्तरसहितको संरचना बनाउन ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलले बताए ।