०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, कार्तिक २७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारी ठगीका सबै अभियुक्तहरूको सम्पत्ति रोक्का गर्न पत्राचार गरिएको छ।

नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लामिछानेसहित सबै अभियुक्तको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ।

‘सहकारी ठगीका अभियुक्तहरूको बैंक खाता, सेयर, जग्गाजमिन लगायत सम्पत्ति कारोबार गर्न नमिल्ने गरी रोक्का गर्न पत्राचार गरिसकेका छौं,’ ती अधिकारीले भने।

कास्की प्रहरीका सूचना अधिकारी वसन्तकुमार शर्माले भने यस विषयमा खुलाउन चाहेनन्। अभियुक्त उपर अनुसन्धान भइरहेकाले खुलाउन नमिल्ने उनको तर्क छ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न चौथो पटक म्याद थप्ने क्रममा कास्कीका जिल्ला न्यायाधीश नवराज दाहालले अभियुक्तको सम्पत्ति रोक्का भए/नभएको र बिगो के छ भनेर प्रश्न राखेका थिए।

इजलासमा न्यायाधीश दाहालले सहकारी पीडितको रकम फिर्ता कसरी हुन्छ? बिगो के छ? अभियुक्तहरूको धन सम्पत्ति के छ? भनेर अनुसन्धान अधिकृतलाई सचेत गराएको इजलासमा उपस्थित सहकारी पीडित किरण श्रेष्ठले बताए।

‘श्रीमानले आइतबार अदालतमा साह्रै राम्रो कुरा गर्नुभयो। अभियुक्तको धन सम्पत्ति, बिगोका विषयमा कुरा उठाउनुभयो,’ उनले भने, ‘अनुसन्धानकर्ताले जाहेरीकर्तालाई यस विषयमा जानकारी दिएको छ कि छैन भनेर पनि सोध्नुभएको थियो।’

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत लामिछानेमाथि अनुसन्धान भइरहेको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका प्रमुख जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले अभियुक्तहरूको सम्पत्ति रोक्का राख्न अनुसन्धान अधिकृतले पत्राचार गर्नुपर्ने बताइन्। उनले यस विषयमा प्रहरीले आफूलाई जानकारी नदिएको बताइन्।

अभियुक्तको सम्पत्ति रोक्का राख्न अनुसन्धान अधिकृतले मालपोत, बैंक लगायत सम्बन्धित निकायमा पत्राचार गर्नुपर्छ। यसबारे प्रहरीले हामीलाई जानकारी दिएको छैन,’ उनले भनिन्, ‘अनुसन्धान प्रतिवेदन आइसकेपछि सम्पत्ति रोक्का राख्न पत्राचार गरेको छैन भने हामी गर्छौं।’

सहकारी ठगीका अभियुक्तहरू क–कसले के कति बिगो तिर्ने भन्नेबारे अदालतबाट फैसला आएपछि थाहा हुने उनले बताइन्।

अनुसन्धानका क्रममा क–कसले कति रकम हिनामिना गरेका रहेछन् भन्ने प्रतिवेदन अदालतमा अभियोजन दर्ता गर्दा समावेश हुने काफ्लेले बताइन्।

फैसला भइसकेपछि अदालतको फैसला कार्यान्वयन शाखामार्फत् दोषी ठहर भएका व्यक्तिको सम्पत्ति बिक्री गरेर भए पनि पीडितले आफ्नो बचत फिर्ता पाउने उनको भनाइ छ।

‘अदालतबाट दोषी ठहर भएका व्यक्तिले फैसला अनुसार बिगो तिर्नुपर्छ। तिरेन भने दोषीको सम्पत्ति लिलाम गरेर भए पनि पीडितले आफ्नो बचत पाउनुहुन्छ,’ उनले भनिन्, ‘यसको सहजीकरण अदालतको फैसला कार्यान्व्यन शाखाले गर्छ।’

अदालतबाट दोषी ठहर भएका व्यक्तिले आफ्नो भागमा परेको बिगो तिरेन र उसको नाममा सम्पत्ति पनि भएन भने त्यसको दायित्व परिवारमा सर्ने कानुनी प्रावधान रहेको उनले बताइन्।

मुलुकी देवानी संहिता कार्यविधि अनुसार दोषी ठहर भएका व्यक्तिका परिवारमा उक्त दायित्व सर्ने प्रावधान रहेको जिल्ला न्यायाधिवक्ता काफ्लेले बताइन्।

‘सहकारी ठगीका दोषीले परिवारबाट पाउने अंश लिलाम गरेर भए पनि पीडितले आफ्नो पैसा फिर्ता पाउँछन्,’ उनले भनिन्।

पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी ढंगले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम लगेर हिनामिना गरेको आरोप लामिछानेमाथि छ।

उनीसँगै पूर्वडिआइजी छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाई लगायतमाथि अहिले अनुसन्धान भइरहेको छ।

उक्त सहकारी ठगीका मुख्य अभियुक्त मानिएको सहकारी संचालक एव गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई भने फरार छन्।

कास्कीमा सूर्यदर्शन, इमेज, बलिदानी, शि शिखर, प्राइम, मित्रमिलन र विन्ध्यावासिनी सहकारीमा ठगी भएको भन्दै मुद्दा अदालत पुगेको छ। यी सहकारीहरूबाट करिब ४ अर्ब हिनामिना भएको पोखरा महानगरका सहकारी संयोजक रविरमण तिवारीले बताए।

‘पोखराका चार वटा सहकारीबाट ४ अर्ब अपचलन भएको प्रतिवेदन छ, मुद्दा अदालतमा विचाराधीन छ,’ उनले भने, ‘अदालतबाट फैसला नआउँदासम्म पीडितले आफ्नो बचत फिर्ता पाउने देखिँदैन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]