सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा नहुने निश्चितजस्तै भएको छ । सरकारले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएको छ । एकातर्फ तोकिएकै मितिमा प्रतियोगिता नहुने भएको छ भने अर्कोतर्फ नयाँ मिति पनि घोषणा नहुनुले त्रास सिर्जना गराएको छ ।
क
सुर्खेत आएका खेलकुदमन्त्री तेजुलाल चौधरीले केही महिना अघि दशौँ राष्ट्रिय खेलकुदसम्बन्धी छलफलमा तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्नलाई तयारी अपुग भएको बताएपछि निर्धारित मितिमा प्रतियोगिता नहुने संकेत देखिएको हो । मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ । अहिले तोकिएकै प्रतियोगिता नहुने भएपछि नयाँ मिति घोषणा गर्नुपर्ने जनाइएको छ । कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्याल फागुनसम्म नयाँ तोक्न सरकारलाई सुझाव दिएको बताउँछन् । अधिकांश खेलाडी विद्यार्थी भएकाले उपयुक्त समय फागुनमा नै हुने उनको भनाइ छ । सञ्ज्यालले भने, ‘तोकिएकै मितिमा प्रतियोगिता नहुने निश्चित भएको छ, अब फागुनसम्म भएपनि प्रतियोगिताको मिति तोक्न सरकारलाई सुझाएका छौँ, अधिकांश खेलाडी विद्यालय उमेरका भएकाले फागुन उपयुक्त समय हो ।’
गण्डकी प्रदेशको राजधानी पोखरामा २०७९ जेठ २२ देखि २८ सम्म भएको नवौँ राष्ट्रिय खेलकुद समापन समारोहबाट कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरिएको थियो । सोही घोषणाअनुरूप कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि झण्डा मात्रै ल्याएको छैन, प्रतियोगिता आयोजनाका लागि व्यापक तयारीसमेत गरिरहेको छ । पहिलोपटक ठूलो प्रकृतिको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएको कर्णालीले नयाँ खेलकुद पूर्वाधार निर्माणदेखि भएका पूर्वाधारहरू सुधार तथा खेलकुद गतिविधिलाई तीव्रता दिइरहेको कर्णाली खेलकुद विकास परिषद्ले दाबी गर्दै आएको छ । कर्णालीमा खेलाउन सकिने खेलहरूको वर्गीकरण गरेर दश वटै जिल्लामा सञ्चालन गर्ने गरी तयारी भइरहेको परिषद्ले जनाएको छ । अन्तिम चरणमा आएर प्रतियोगिता नहुने भएपनिछ यतिबेला कर्णालीको खेलगतिविधि सुस्ताएको छ । संघीय सरकारले नयाँ मिति तोक्न विलम्व गर्न नहुने प्रदेश सरकारले जनाएको छ । खेल आयोजना गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । पूर्वाधार निर्माणका काममा प्रदेश सरकारले सहयोग गरिरहेको बताउँदै उनले नयाँ मिति तोक्न संघीय सरकारले ढिलाई गर्न नहुने जनाए ।
ठाउँ–ठाउँमा खेलपूर्वाधार,
दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर कालिञ्चोक क्रिकेट मैदान निर्माण गरिएको छ । २०८० मंसिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । उक्त क्रिकेट मैदान निर्माण सम्पन्न भइ प्रयोगमा आइसकेको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए ।
यसैगरी वीरेन्द्रनगरमै अर्को क्रिकेट रंगशाला निर्माण भएको छ । चार करोड ५९ लाख लागतमा क्रिकेट मैदान निर्माणको काम भएको हो । वीरेन्द्रनगर नगरपालिकाको गुरुङचोक र चिसापानीमा फूडबल मैदान निर्माण तयार पारिएको छ ।
दैलेखमा कभर्डहल मर्मत गरिएको छ । उपभोक्ता समितिमार्फत् मर्मतको काम गरिएको हो । यस्तै, रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम सम्पन्न भएको छ । प्रतियोगिता लक्षित पूर्वाधार निर्माणका लागि कभर्डहल मर्मत गरिएको जिल्ला खेलकुद विकास समिति रूकुमपश्चिमले जनाएको छ । हुम्लामा हकी खेलमैदान निर्माण भएको छ । खेल मैदान निर्माणको काम तोकिएकै समयमा सकिएको जिल्ला खेलकुद विकास समिति हुम्लाले जनाएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भएका छन् । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माण गरिएको छ ।
अधिकांश स्थानका खेलपूर्वाधार बनिसकेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । रारामा कबड्डी खेल मैदान निर्माण सकिएको उनले जनाए । दैलेख र रूकुमपश्चिममा कर्भड हल मर्मत गरिएको, हुम्लामा हक्की खेल मैदान निर्माण, जाजरकोटको कुदुमा फुटबल खेलमैदान निर्माण सम्पन्न भएको उनले जानकारी दिए । डोल्पाको दुनैमा कर्भड हल मर्मत गरिएको छ । जिल्ला–जिल्लामा खेलपूर्वाधार समेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
प्रदेश रंगशालाको ९६ प्रतिशत काम सकियो ।
वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला निर्माणको काम हालसम्म ९६ प्रतिशत सम्पन्न भएको छ । अब रंगशालाको चार प्रतिशत काम मात्र बाँकी रहेको छ । निर्माणधिन प्रदेश रंगशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । अहिले प्रदेश रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वित्तीय प्रगति ९५ प्रतिशत भएको छ । उक्त रंगशाला निर्माणका लागि एक अर्ब ५० करोड बजेट कार्यान्वयन भएको छ ।