कोशी प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी एन्फा महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशीलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै आर्मी दोस्रो स्थानमा उक्लिएको हो।
आर्मीको जितमा विमला चौधरी र अनिता लमजेलले २/२ गोल गरे। हिमा चौधरीले एक गोल गरिन्।
अनिता लमजेल खेलको प्लेयअर अफ दि म्याच घोषित भईन्।
जितसँगै दोस्रो स्थान कब्जा गरेको आर्मीले १३ अंक जोडेको छ। हारसँगै कोशी एक स्थान तल झर्दै चौथो स्थानमा खस्किएको छ।
अपराजित एपिएफ शीर्षमै
एपिएफ क्लबले छैटौँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्दै एन्फा महिला लिगमा शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफले मंगलवार संकटा क्लबलाई ३–० ले पराजित गर्दै जारी लिगमा आफ्नो लय कायमै राख्यो। यससँगै साविक विजेतासमेत रहेको एपिएफले लिगको शीर्ष स्थानमा रहेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको हो।
एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे। खेलको १३औँ मिनेटमा सरुको गोलबाट एपिएफले अग्रता लियो। रश्मिकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वन टचमै पोस्टको दिशा दिइन्।
एक मिनेट नबित्दै संकटाले खेलमा फर्कने अवसर गुमायो। ममता पुनले काउन्टर अट्याकबाट दिएको उत्कृष्ट क्रसमा सावित्री किसिनले डाइभ गरे पनि फुत्किएको बल टासी ल्हामु शेर्पाले भेट्टाउन सकिनन्। लगत्तै निशा थोकरले उक्त बल क्लियर गर्दै एपिएफको संकट टारिन्।
२१औँ मिनेटमा अनिता बस्नेतको करिब १० यार्डबाट गरेको सशक्त प्रहार संकटाकी गोलकिपर तेनिङ सेनेले उत्कृष्ट बचाउ गरिन्। त्यसपछि केही प्रयास भए पनि थप गोल हुन सकेन र पहिलो हाफमा एपिएफ १–० ले अगाडि रह्यो।
अनिता केसीले ५१औँ मिनेटमा एपिएफको अग्रता दोब्बर बनाइन्। सरुले दिएको बललाई अनिताले बक्सभित्र टर्न गर्दै उत्कृष्ट गोल गरेकी हुन्।
एपिएफले ६४औँ मिनेटमा तेस्रो गोल गर्दै संकटामाथि दबाब बनायो। पेनाल्टी बक्स लाइनबाट सविताले गरेको उत्कृष्ट गोलबाट एपिएफले ३–० को सहज अग्रता बनायो। सरुले दिएको थ्रु पास नियन्त्रणमा लिँदै उनले गोल गरिन्। यस क्रममा सविताले संकटाका दुई रक्षकलाई बिट गर्दै बललाई पोस्टको दिशा दिइन्।
यसपछिको समयमा थप गोल हुन सकेन र एपिएफको अपराजित यात्रा कायमै रह्यो। एपिएफकी सरु लिम्बू प्लेयर अफ दी म्याच भइन्।
लिगका शीर्ष ५ टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन्। शीर्ष स्थानको एपिएफले पाँचौँ जितसँगै ६ खेलबाट १६ अंक जोडेको छ। दोस्रो स्थानको पुलिसको ११ अंक छ तर उसले एउटा खेल कम खेलेको छ।
यता, पहिलोपल्ट लिग खेलेको संकटाले विदेशी खेलाडी भित्र्याए पनि सुखद् नतिजा प्राप्त गर्न सकेको छैन। ६ खेलमा संकटाको यो तेस्रो हार हो।
संकटा ५ अंकसहित सातौँ स्थानमा छ। अहिलेको अंक तालिकाअनुसार संकटाको दोस्रो चरणमा पुग्ने सम्भावना कठिन देखिएको छ।