हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिमा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ।
सोमबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि संभावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोसी, मधेस, बागमती, गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि मौसम साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोसी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।