०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

मायाजालमा पारेर एकल महिलामाथि लुट: घर र तीन करोड पनि स्वाहा

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

चितवन । ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् । कुरा गर्दा थाहा भयो काठमाडौं ४ धुम्बाराही घर भएकी प्रनिता ढकाल (नाम परिवर्तन) रहिछन् । कुरा गर्ने क्रममा लाटिएकी जस्ती भएकी उनले सुरुमै रुँदै भनिन्, ‘म सोझीको सबै सकाइदियो ।’
बिज्ञापन

४५ वर्षकी प्रनिता एकल महिला हुन् । श्रीमानको सात वर्षअघि निधन भएको थियो । काठमाडौं घर भए पनि श्रीमान् हुँदा पनि बेवास्ता गर्ने भएपछि १० वर्षसम्म दुबईमा रोजगारी गरेर दुई सन्तान हुर्काएकी रहेछन् ।

एक छोरा र एक छोरी हुर्काएर छोराको विवाह पनि गरिदिएकी रहिछन् उनले । छोरा श्रीमतीसहित विदेश छन् । छोरीले पनि १२ पास गरिसकेकी छन् । विदेश गएर पढ्ने तयारी गरिरहेकी छोरी आमासहित परिवार नै ठगीमा परेर बेघरबार भएपछि न्याय पाउने आशामा चितवनका प्रशासन धाइरहेका छन् ।

प्रेमको नाटक गरेर संगठित अपराध

प्रनिताकै अनुसार उनी पैसाको हिसाबकिताबमा पहिलेदेखि कमजोर थिइन् । बुबाको मृत्युअघि नै छोराबुहारी अष्ट्रेलिया गएकाले उनीहरूले कल्पनाको बैंकमा भएको रकमको हिसाबकिताब इमेलमार्फत राखिदिने र लिने, तिर्ने सबै उनलाई सुझाउने रहिछन् ।

यहीबीचमा प्रनिताको काठमाडौंकै टोखा बस्ने कैलाशमणि खरालसँग चिनजान भयो । ‘छोराले पीआर नपाएकाले कमाएको अलिअलि रकम जग्गामा हालौं भन्ने सल्लाह भएको थियो’, प्रनिताले नेपाल प्रेससँग भनिन्, ‘त्यही जग्गा खोज्ने क्रममा खरालसँग चिनजान भयो ।’

प्रनिता एकल महिला भएकाले खरालले त्यसलाई ठग्ने अवसर बनाए । उनले अलिअलि अभिभावक जस्तो, माया गर्ने जस्तो व्यवहार देखाउन थालेपछि प्रनिता ले उनलाई आफ्नो मान्न थालिसकेकी थिइन् । घर आउजाउ पनि बाक्लिएको थियो ।

प्रनिता सम्झिन्छिन्, ‘म त सोझो एक्लो मान्छे । उसले श्रीमतीसँग सम्बन्ध विच्छेद भएको, छोराछोरी पनि आफूसँग नभएको भन्यो, पत्याएँ । ती सब त मलाई लुट्न पो रैछ ।’

प्रनिताले भने जस्तै तीन वर्षअघि जग्गा खोज्ने क्रममा भेटिएका खरालले मन, विश्वासमात्रै लुटेनन् उनको, काठमाडौंदेखि चितवन ल्याएर संगठित गिरोहको समूह नै बनाएर करिब तीन करोड रुपैयाँ लगेको प्रमाण त प्रनिताको झोलामै छ ।

नौ बिघा जग्गा किन्ने भन्दै माडी ल्याए, अरू तीन पनि अपराधमा जोडिए
काठमाडौंमै केही घडेरी किन्ने भनेर जग्गा खोज्न निस्किएकी प्रनितालाई मायाजालमा पारेपछि सबैभन्दा पहिले घडेरीबाट मोडेर टोखाको कुखुरा फार्ममा पैसा हाल्ने भनेर २० लाख रुपैयाँ लिएको कागज अहिले पनि उनीसँग छ ।

पैसा दिइसकेपछि उनले त्यहाँ फार्म त नाममात्रको भएको थाहा पाइन् । एकातिर २० लाख दिइसकेको अर्कोतिर जग्गा किन्नै बाँकी रहेकाले तराईमा जमिन जोड्नुपर्छ भन्दै खरालले उनलाई चितवन ल्याइपुर्‍याए । त्यसपछि चितवनको माडी कल्याणपुरमा ४ जना जग्गाधनीको जमिन ९ बिघा किन्ने भनेर पैसा लिन सुरु भयो ।

त्यहीबीचमा माडी नै घर भएका गंगादेवी पाण्डे र मैया भन्ने माया भट्टराई पनि उनीहरूको समूहमा जोडिए । दुई महिलासँगै रत्ननगर टाँडीका नवराज तिमल्सेना पनि समूहमा जोडिएको चैत ३० गते जिल्ला प्रशासन कार्यालयमा प्रनिताले दिएको उजुरीमा उल्लेख छ ।

पाँच लाख, १० लाख हुँदै प्रनिताको खाताबाट खरालले निरन्तर पैसा लैजान थाले । ‘कहिले जग्गाको लागि घुस जनप्रतिनिधिलाई दिनु छ त कहिले मालपोतमा दिनुपर्नेछ भन्दै कति पटक नगदै लगे लगे’, प्रनिता भन्छिन्, ‘त्यो पैसाको त हिसाबकिताब नै छैन ।’

जग्गा किन्ने रहरले चितवन आइपुग्दासम्म प्रनिताको नाममा काठमाडौंमा ७ आना, १५ आना र ६ आना घडेरी थियो । साढे दुई तलाको घर पनि आफ्नै थियो । तर, करिब दुई करोड खर्च हुँदासम्म माडीमा किनिएको भनिएको ९ बिघा जमिन उनको नाममा आएन । अन्त लगानी गरिएको भनिएको पैसा पनि कतैबाट आएको थिएन ।

कहिले पोखरी पुर्न त कहिले कित्ताकाटको लागि भन्दै मागेको पैसा दिइरहिन् उनले । ‘मेरो पैसा पर्सि आउँछ, आज तिमी देऊ न भन्थ्यो’, प्रनिताले भनिन्, ‘एक पटक फसिहाल्यो, फर्काउला नि त भनेर थप्दै गएँ । तर, पैसा फर्काएनन् ।’

बरु माडीका दुई महिला माया र गंगाले प्रनिताको काठमाडौं घरमै गएर खरालसँगको नराम्रो सम्बन्ध सार्वजनिक गरिदिन्छौं भनेर रकम माग्न थाले ।

प्रहरी कार्यालय परिसरमै भेटिएकी उनकी छोरीले भनिन्, ‘पैसा लिन मलाई समेत तेरो ममीको खरालसँग नराम्रो सम्बन्ध छ भन्न भ्याए ।’

गत वैशाखमा छोरीको कक्षा १२ को परीक्षा सकिएपछि हिसाब गराउँदा आफ्नो करिब ३ करोड रुपैयाँ उनीहरूले लिएको थाहा पाएपछि बल्ल झस्किइन् प्रनिता । त्यसयता भने करिब वर्ष दिनको यो समयमा उनी पैसा उठाउन भौंतारिइरहेकी छन् ।

प्रहरी हिरासतमा खराल, अरू तीन सम्पर्कमा छैनन्

छोरीले हिसाब गर्ने बेलासम्म काठमाडौंको साढे दुई तलाको घर पनि प्रनिताले गुमाइसकेकी थिइन् । ‘म सोझो मान्छे, तेरो नराम्रो कुरा भनिदिन्छु भने । पैसा मागे । धम्क्याए । डरले घर पनि बन्धकी राख्न राजी भएँ’, उनले भनिन् ।

प्रनिताले साढे दुई तलाको घर गिरोहका सदस्यहरूका नजिकका मान्छेलाई ३० लाख बन्धकीमा पास गरिदिएकी छन् । सबै सकाएपछि एक छोरीसहित उनी बेघर भएकी छन् ।

माडीमा स्थानीय जनप्रतिनिधिको रोहबरमा पनि पटक पटक छलफल भयो । गत वैशाखमा त उनी तीन महिना माडी आएर बसिन् । तर, आफूले बिक्री गरेको जमिनको पैसा नपाएपछि जग्गाधनीले पनि जग्गा चलाउन दिएका छैनन् ।

माडीका इलाका मालापोत कार्यालयका प्रमुख नवराज घिमिरेलाई पैसा दिनुपर्ने भन्दै गंगा र मायालाई दिएको चेकको रेकर्ड पनि उनीहरूसँग छ । तर, घिमिरे आफूले जमिन कित्ताकाटमा रकम नलिएको दाबी गर्छन् । उनले भने, ‘मसँग कुनै पनि खालको चेक आएको छैन, भए बैंक स्टेटमेन्ट बुझ्न सकिन्छ ।’

आफू बेघर भएपछि उनीहरूले जिल्ला प्रशासनमा दिएको निवेदन जाँच गरी आज सोमबार जिल्ला प्रहरी कार्यालय चितवनमा ठगीको अपराध भन्दै कारबाही अघि बढाउन पत्र पठाएको छ ।

चितवन आएको मौकामा प्रनिताको निवेदनलाई आधार मानेर खराललाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । अरू तीन जना भने सम्पर्कमा छैनन् । प्रशासनमा पहिलो निवेदन परेको कारण थप प्रक्रिया भने अनुसन्धान गर्दै अघि बढाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनले लेनदेन वा ठगी कस्तो हो, अनुसन्धान र छलफल गरी कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।

आइतबार प्रहरीले हिरासतमा लिएको कैलाशमणी खराललाई सोमबार ढिलो गरि जिल्ला प्रहरी कार्यालय चितवनले हरेक दिन बिहान हाजिर हुनेगरि हाजिरी जमानीमा छोडेको छ ।

हिरासत बाहिर रहेका खरालले नेपाल प्रेससँग कुरा गर्दै महिलाको रकम हिनामिना भएको स्वीकार गरे । उनले जग्गाको व्यवसायबारे थाहा नभइ हात हाल्दा महिलाको रकम हिनामिना भएको दाबी गरे ।

तर, उनसँगको सम्बन्धबारे भने उनले बोल्न नचाहने भन्दै भने- म परिवार भएको मान्छे हो । मेरो उहाँसँग सम्बन्ध छैन । उहाँको बारेमा पनि बोल्न चाहन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत ।  बाजुरा  जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]

पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]